काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेको छ । यसबाट भएको हिमपातले देशैभर चिसो बढेको छ । बाक्लो हुस्सुका कारण हवाई यात्रा समेत प्रभावित बनेको छ । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वागमती प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङसहित वर्षा हुनेछ। अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ । उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा हल्का हिमपातको सम्भावना छ।
चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।