काठमाडौं । जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन। अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले पूर्वदेखि पश्चिमसम्मै तराईका भूभागहरूमा वर्षा भइरहेको छ।
पहाडी भूभागहरुमा गएरातिदेखि पानी परिरहेको छ। यो क्रम अब देशैभरी चल्नेछ । मनसुन विस्तारै पश्चिमतिर सर्दा तापक्रम समेत घट्ने क्रममा देखिएको छ । आगामी चौबिस घन्टामा सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भू(भागमा मनसुनी प्रणाली र बाँकी भूभागमा भारतको उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ।
दिउँसो कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षा र मेघ-गर्जनचट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव्का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। राति कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।