काठमाडौं । मनाङ र हुम्लाबाहेक नेपालका ७५ वटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसको ठूलो प्रकोप ललितपुर र काठमाडौंमा देखिएको छ । ललितपुरका कतिपय परिवारका सबै सदस्यमा डेङ्गी देखिएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाडौंमा ८ सय ८८ जना छन् ।
डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाले जनाएको छ । डेङ्गीको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ ।
अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् । समुदायमा डेङ्गी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ ।
कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेङ्गी सार्ने लामखुट्टेले फुल पार्ने हुँदा बेलाबेला पानी फाल्न र सफा गरिरहनु पर्छ । लामखुट्टे नियन्त्रण नै डेङ्गी रोकथामको मुख्य उपाय हो । यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ जथाभाबी औषधि नखान पनि डाक्टरको सुझाव छ ।