देश संकटमा छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश सङ्कटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिवार पार्टीको बाग्मती प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले देश एउटा दोधारमा उभिएको बताए । उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको समेत बताए ।

उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित भएको बताए । उनले भने, ‘अहिले देश एउटा दोधारमा उभिएको छ । देश एउटा सङ्कटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर, खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी छ । हामीले नेपाललाई गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।’ सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए ।