दोलखा । दोलखामा जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका–४, सिँगटी भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो । १७ जना व्यक्ति दुर्घटनामा घाइते रहेको प्रहरीले जनाएको छ ।
सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
घाइते भएकामध्ये १० जनालाई थप उपचार गर्न काठमाडौंमा पठाइएको छ । केहीको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार जारी छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको खबर आउनासाथ जिल्लाबाट उद्दार टोली घटनास्थलमा राती नै खटिएको थियो ।