दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

File Pic : BBC

काठमाडौं । नेपालमा बुधबारबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको हो । आज बिहीबार दोस्रो दिनसम्मको आंकडा अनुसार २८ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा उत्साहजनक सहभागितासहित कोरोना खोप विरुद्धको अभियान चलिरहेको छ ।

आजसम्म प्रदेश नम्बर १ का ३ हजार ८ सय ४७, प्रदेश २ का २ हजार १ सय ७४, बागमतीका ११ हजार ४ सय ६१, गण्डकीमा ४ सय ८५३, लुम्बिनी २ हजार ३ सय ३, कर्णालीका १ हजार ६ सय ७७ र सुदूरपश्चिममा २ हजार ४ सय १६ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका अनुसार खोप लगाएका व्यक्ति कसैमा पनि स्वास्थ्य समस्या देखिएको रिर्पोट प्राप्त भएको छैन । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका जनशक्तिले खोप पाइरहेका छन् । यसमा स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालक, खोप केन्द्रमा खटीने सुरक्षाकर्मी तथा स्वयं सेवक रहेका छन् ।

यसैगरी शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयं सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, वृद्धाश्रमका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनामा सबै जनसंख्यालाई पुग्ने गरी खोप भित्राउने घोषणा बुधबार गरेका छन् ।