काठमाडौं । संसारभर कोरोनाको ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी देशले कोभिड विरुद्धको खोप भण्डारण गरि बजारमा अभाव सिर्जना गर्न सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। बीबीसीका अनुसार यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित हुन सक्ने सम्भावना समेत बढेको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र पारेका छन्।
हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको भन्दै चिन्ता व्यक्त भइरहेका छन्। खोप उत्पादक फाइजर बायोएनटेकले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले कोभिडको मुख्य स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने पाइएको छ। तर त्यो कमी बुस्टर मात्राले पूर्ति गर्ने बताइएको छ। विश्व स्वास्थ्य सङ्गठनले भने सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ।
डब्ल्यूएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो। अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्याएको देखिएको छ।