धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले १ सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के(के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सामाजिक सञ्जारमा राखेका छन् । उनले पहिलो नम्बरमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको बताएका छन् । खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका उनले यसलाई श्रमक्रान्ती भनेका छन् ।

‘नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ। चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ। छ लाख विरुवा रोपें। सरसफाइमा देखिने सुधार ल्याएँ,’ राईले कामका विवरण सार्वजनिक गर्दै उल्लेख गरेका छन्। उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन्।

‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें। बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ। योजनाहरुका लागि बजेटको जोहो गराएँ,’ उनले भनेका छन्। पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ।