काठमाडौं । प्रहरी हिरासतमा रहकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेका हुन् ।
उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेपछि पक्राउ परेकी हुन् ।
यस प्रकरणमा अनुसन्धान सकेर प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहित प्रतिवेदन बुझाएको थियो ।
सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय दिएको थियो । राउतलाई चार दिन थुनामा राख्ने आदेश आएको भएपनि उनी अस्पताल भर्ना भएकी थिइन् ।
उनी ‘हाइपर टेन्सन’ भएको भन्दै अस्पताल भर्ना भएकी हुन् । छुटेपछि राउतले प्रहरीको प्रशंसा गरेकी छिन् । उनी बुबा हरिबहादुर राउतसँगै प्रशासनबाट निस्किएकी हुन् । उनले सञ्चारकर्मीलार्ए प्रतिक्रियासमेत दिएकी थिइन् ।
उनले प्रहरीप्रतिको बुझाइ दुई दिनमै फेरिएको प्रतिक्रिया दिएकी हुन् । उनले आफूबाट गल्ती भएको समेत पुनः स्वीकार गरिन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएपछि उनी फेसबुक लाइभमा आउकी थिइन् । फेसबुकबाट प्रहरीलाई तथानाम भनेपछि उनी विवादमा तानिएकी हुन् ।