काठमाडौं । धर्मगुरु कृष्णबहादुर गिरीले बलात्कार मुद्दामा सफाई पाएका छन् । जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने धर्मगुरु गिरीलाई सफाइ दिएको हो । बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।
सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो ।
तर उच्च अदालतल विराटनगरले फेरि प्रमाण बुझेर फैसला गर्न भन्दै जिल्लामा नै पठाएको थियो । जिल्लाले दोस्रो पटक उनलाई सफाइ दिएको हो । धर्मगुरु गिरीमाथि चतरास्थित आश्रममा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेको थियो । हिरासत अवधी अस्पतालमा बसेका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।
२२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । ३ जेठ २०७९ मा उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले जवरजस्ती करणी मुद्दामा सफाइ दिने जिल्लाको फैसलामा गम्भीर त्रुटी देखाउँदै पुनप्रमाण बुझेर न्याय निरुपण गर्न आदेश दिएको थियो । उच्चको फैसलापछि जिल्लामै फर्किएको मुद्दा २०७९ असार १४ गते फेरि मुद्दा दर्ता भएको थियो । पुन दर्ता भएको मुद्दामा अदालतले दाबी नपुग्ने ठहर गरेको हो ।