धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गको धादिङ, थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी गराएका हुन् ।

दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ । घाइते उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको समाचारमा उल्लेख छ ।

बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । ओभरट्याक गर्ने क्रममा बस र कार ठोक्किएको बताइएको छ । उनीहरु नेपाल घुम्न ७ वैशाखमा आएको र सोमबार दिल्ली फर्कने तयारीमा रहेको समाचारमा उल्लेख गरिएको छ ।