काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल परेको छ। राससका अनुसार आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ ।
६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्दा दक्षिण एशियामै कोभिडविरुद्धको खोप धेरै प्रतिशतलाई लगाउने मुलुकमा नेपाल उक्लिएको हो। प्रधानमन्त्री देउवा सरकारको नेतृत्व लिएपछि खोप खरिद द्रुतगतिमा अघि बढेको, खोप केन्द्र आवश्यकताअनुसार बढाइएको र खोप लगाउने जनशक्तिमा व्यापक वृद्धि गरेका कारण खोप व्यवस्थापन चुस्त भएको राससले लेखेको छ ।
हाल सबै प्रदेशमा कोभिसिल्डरएस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ। प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन्। मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ७९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्। लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ।