नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ

काठमाडौं । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासमा सम्बन्धित निकायबाट दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैधरुपमा सञ्चालित मेनपावर पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । प्रहरीका अनुसार श्रम तथा रोजगार कार्यालय बुटवलसँगको समन्वयमा मुम्बईका २४ वर्षीय निर्सग रविन्द्र राणे र सोही स्थानका ३७ वर्षीय जावेद मसिहलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ल्यापटप, भारतीय आधार कार्ड, भारतीय बैंकको चेकबुक र डेबिट कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र सामान आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवललाई बुझाइएको छ । प्रशासनले बन्द गरिएको मेनपावरबाट पीडितलाई श्रम तथा रोजगार कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरेको छ ।