काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । यसअघि दुई पटक संघीय संसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । यो प्रावधानले अब गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ । उनीहरुले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउनेछन् ।
वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन् । यस्तो व्यवस्था बमोजिम नागरिकता लिन निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण चाहिन्छ । सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्छ ।
विदेशी मुलुकको नागरिकता भएको प्रमाण चाहिन्छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्छ । नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र चाहिन्छ । विधेयक प्रमाणीकरण भएपछि नेपाली पुरुषसँग विवाह गरेर आउनेले विदेशी महिलाले तत्कालै अंगीकृत नागरिकता पाउनेछ ।