नयाँ शक्तिको निर्वाचन सम्पन्न, नेतृत्वमा बाबुराम भट्टराई र नेत्र चापागाइँ भिड्दै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भएको छ । मंगलबार राति अबेर मतदान सकिएको हो । ‘राति १२ बजे तिर मतदान सकिएको थियो । नेताहरुका अनुसार मत गणना बुधबार बिहानबाटै सुरु गर्ने तयारी छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको छ ।

अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं भिडेका छन् । महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष उम्मेदवार बाबुराम भट्टराईले मतदानपछि झन्डै ५ दशकको राजनीतिक तथा पार्टी जीवनमा पहिलो पटक आफू सम्बद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताए ।


‘हालै सम्पन्न नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनद्वारा पारित युगीन महत्वको राजनीतिक तथा संगठनात्मक प्रस्ताव र नेतृत्व चयनमा अपनाइएको उन्नत प्रकृतिको समानुपातिकता सहितको प्रत्यक्ष निर्वाचन प्रणालीले नेपाली राजनीतिको पुनर्संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास’, उनले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन्।