काठमाडौं । जर्जियाविरुद्ध फराकिलो जित निकाल्दै अनुभवी टोली स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४–१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्यो । खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
पहिलो हाफमा बराबरीमै सकिएको खेलको दोस्रो हाफमा भने स्पेन हाबी भयो । थप तीन गोल गर्यो । ५१औं मिनेटमा फाबियन रुइजले हेडरमार्फत गोल गरे । ७५औं मिनेटमा निको विलियम्स र ८३औं मिनेटमा ड्यानी ओल्मोले थप एक गोल गरेपछि स्पेन ४–१ ले विजयी भयो । क्वाटरफाइनलमा स्पेन र जर्मनीविरुद्ध खेल हुनेछ । जर्मनीले डेनमार्कलाई २० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो । आयोजक जर्मनी र स्पेन दुवै टोली उपाधि दाबेदार मानिएका छन् ।