नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुक चीन र भारतले बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई ज्ञापन गरेका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत लिएका छन् । चीनले समेत प्रधानमन्त्री प्रचण्डको सफल कार्यकालका लागि शुभकामना दिएको छ।

प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँराजदूतावासका तर्फबाट बधाई दिइएको छ । चीनका कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत उनलाई बधाई दिएका हुन्। चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिएका छन्।