नागढुंगा नजिकै पहिरो, लामो समयदेखि यातायात ठप्प

काठमाडौं । नागढुंगा सुरूङमार्ग नजिकै पहिरो जाँदा बाटो अवरूद्ध बनेको छ । धादिङ धुनिबेँसी नगरपालिका ९ स्थित खत्रीपौवा भन्ने ठाउँमा लेदोसहितको पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरूद्ध भएको प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए। उनका अनुसार बेलुकी छ बजेतिर लेदोसहितको पहिरो खसेको हो।

दिउँसो भएको भारी वर्षाका कारण लेदोसहितको पहिरो खसेर राजमार्ग अवरूद्ध भएको उनले जानकारी दिए । नागढुंगा सुरूङमार्ग नजिकै भएकाले त्यहाँका एक्सकाभेटरले राजमार्ग खोल्ने गरी काम जारी छ । पहिरो निरन्तर खसिरहेको हुँदा काम गर्न समस्या भएको छ । रातको १० बजेसम्म समेत बाटो नखुल्दा दुबै तर्फ गाडीको लामो लाइन लागेको छ ।