नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका ८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो। सो कार नुवाकोटबाट काठमाडौं आउँदै थियो। सो कारको डिक्कीबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँ बरामद गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको समेत जनाएको छ ।