नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?

काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिएको छ । विधेयकमा विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको स्रोतले बताएको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्था थपिएका छन् ।

स्रोतका अनुसार पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा छैन वा पहिचान भेटिएको छैन भने त्यसरी नागरिकता नपाएका सन्तानलाई बाबुको पहिचान नभएको मानेर नागरिकता दिनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै, बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्ता सन्तानलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।

यसअघि नाबालक परिचयपत्रलाई नागरिकता ऐनमा नराखिएकोमा त्यसलाई पनि ऐनमा समेटिने भएको छ । नागरिकता प्राप्त गर्ने उमेर नभएका बालबालिकालाई नाबालक परिचयपत्रका आधारमा राहदानीलगायत अन्य सुविधा राज्यले प्रदान गर्दै आएको छ । यसका साथै, एनआरएन नागरिकता प्राप्त गरेका व्यक्तिहरुलाई सामाजिक, सांस्कृतिक एवम् आर्थिक अधिकार दिने विषयलाई पनि ऐनमा स्पष्ट पारिएको छ ।