नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी

१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्यहरुको आह्वानमा काठमाडौँमा यही असार १४ र १५ गते पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको हो । पार्टीलाई अनिर्णयको बन्दी बनाएको र डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको तथा पार्टीलाई चलायमान बनाउन नसकेकाले नयाँ निर्णय लिनुपरेको सांसद चौधरीले बताए ।

यसैबीच पार्टीको अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएकी रञ्जिता श्रेष्ठले भने पार्टी विधानविपरीत भएको निर्णय आफूलाई मान्य नहुने बताइन् । उनले भनिन्, “मलाई जानकारीसमेत नदिइ राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरिएको छ । यो विधानविपरीत हो । अब मैले कानुनी उपचार खोज्छु ।” लालवीर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी रेशम पत्नी रञ्जितालाई बुधबार पार्टीले अध्यक्ष पदबाट हटाएको थियो ।

विसं २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । तत्कालीन समयमा रेशम चौधरी जेलभित्र भएका बेला उनकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशनबाट रेशम पार्टीको अध्यक्ष बनेका थिए ।यद्यपि, निर्वाचन आयोगले वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्केको थियो । रेशम निर्वाचन आयोगको उक्त निर्णय विरूद्ध सर्वोच्च अदालत जानुभयो । हाल उक्त मुद्दा विचाराधीन छ ।