नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

काठमाडौं । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।

प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्तीलाई पनि पक्राउ गरेको छ । डीएसपी गौतमका अनुसार ज्ञानबहादुरले गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी राखेर नाति विवेकलाई छोरा हो भन्दै जन्मदर्ता प्रमाणपत्र बनाएका थिए ।

जन्मदर्ताको आधारमा वडा कार्यालयले विवेकको नागरिकताको लागि सिफारिस गरेको थियो । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय, लमहीबाट विवेकले नागरिकता लिएका थिए । नातिलाई छोरा बनाएर नागरिकता बनाइदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।