नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले संरचना भत्काएको बताइएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काइएको हो । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास विनै बनाएको सो संरचनालाई नारायणहिटी दरबार संग्रहालयले समेत अनदेखा गरेर बसिरहेको थियो ।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि पर्यटन मन्त्रीको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै सो संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो । बताससँग कफी शप राख्ने विषयमा भएको सम्झौताबारे छानबीन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिको म्याद तीन दिनको छ ।