काठमाडौं । नारायणी नदीमा आइतबारबाट मिनी पानीजहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले १ माघबाट क्रुज सीप सञ्चालनमा आउने बताएको हो । करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो । कोभिड महामारीका र नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन नसकेको कम्पनीको भनाई छ । सबै प्रक्रिया पुरा गरेर क्रुज सीप सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले बताएका छन् ।
आइतबार १ बजे विशेष क्रुजिङको समय रहेकाले यही समयलाई साइत मानेर सञ्चालन गर्ने उनको भनाई छ । तीन तलाको क्रुज सीपमा १८० जना अट्ने छन् । यसको कुल क्षमता २०० हो । यसमा यात्रा गर्ने सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । क्रुज सीपको टिकट दर सात सय रहेको छ ।
ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ । भरतपुर महानगरपालिकाको वडा नं. १६ मंगलपुर काभ्रे घाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दुरीमा सञ्चालनमा आउने जनाएको छ ।