नारायणी नदीमा बाढी, सयौं मानिसलाई सुरक्षित स्थानमा सारियो

File : THT

काठमाडौं । नारायणी नदीमा बाढीले बसती क्षेत्रमा डुबान थालेको छ । नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लर भत्काउँदा पुल बगेकोजिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटक घुम्न जाने गर्दथे । यहाँ बीपी कोइरालाको शालिकसमेत राखिएको छ ।

नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेपछि नदी तटीय क्षेत्रका वासिन्दाहरुलाई विभिन्न सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका वडा न.. १६ गुम्बाचोबाट २६ महिला र ३३ पुरुष गरी ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । भरतपुर महानगरपालिका ३ मा रहेको ‘हाम्रो घर’ नामक संस्थामा आश्रित २४ जना बालबालिका र दुई जना कामदार गरी २६ जनालाई एग्रोभेटको भवनमा सारिएको छ ।

भरतपुर १७ गोब्रेनीमा नारायणी नदीले घर डुबाउने अवस्था आएपछि १७ घर धुरीका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई आफन्तहरुको घरमा र कसैलाई आश्रय मागेर सारिएको हो । घरका सामानहरुलाईसमेत डुङ्गाको सहायताबाट सार्ने काम भैरहेको छ ।

भरतपुर महानगरपालिका ३ बालकुमारी नर्सिङ कलेजले भोगचलन गर्दै आएको भवनमा बस्ने ३ पुरुष र १ महिलालाई नजिकै रहेका आफन्तहरुको जिम्मा लगाइएको छ । भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र त्यहाँ रहेका १० घरका २८ जनालाई मारवाडी सेवा समाजको घरमा सारिएको छ ।