काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अब निजी अस्पताललाई समेत कोरोनाको उपचार तथा नियन्त्रणमा खटाउने निर्णय गरेको छ । अब निजी अस्पतालले कम्तिमा २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउनु पर्ने भएको छ। शुक्रबार मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै यसे निर्देशन दिएको हो ।
कोरोना संक्रमित बढ्दै जाँदा सरकारी अस्पतालमा बेड अभाव भएको निष्कर्षमा सरकार पुगेको छ । खासगरी राजधानीमा यो समस्या चर्किएको छ । काठमाडौं उपत्यका लगायतका ठाउँहरूमा अस्पतालका बेड अभाव हुँदै गएको छ। यसअघि कुनै अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पोजिटिभ देखिएमा सरकारले तोकेका कोभिड अस्पतालमा रिफर गरिदै आएको छ ।
अब भने कोभिड अस्पतालहरूमा मानिसको संख्या बढेको छ । यसले बेड अभाव भएको छ । काठमाडौंमा कोरोना पुष्टी भएकालाई समेत घरमै राख्दा अझ जोखिम बढेको छ । उपत्यकाभित्रका कुनै अस्पतालहरूमा पठाउनु पर्ने अवस्था भएमा अब हब अस्पतालको समन्वयमा मन्त्रालयबाट निर्देशन लिएरमात्रै पठाउनु पर्नेछ । तर, २० प्रतिशतसम्म बेड भने कोरोना बिरामीको उपचार गर्न छुट्याउनु पर्ने नियम सरकारले ल्याएको छ ।