नियमित जुस पिउने गर्नु भएको छ ? अब बिचार पुर्याउनुहोस

के तपाईलाई हरेक दिन गुलियो जुस खाने बानी छ ? के हरेक दिन चिनीको मात्रा भएको सोडा खाने गर्नु हुन्छ ? त्यति मात्र होईन तपाई हरेक दिन गुलियो १००% फ्रेस जुस खानु हुन्छ भने पनि अब सोच्नु पर्ने भएको छ । विश्व कै पुरानो मेडिकल जर्नल (बि एम जे) “ब्रिटिश मेडिकल जर्नलख” ले नियमित रुपमा गुलियो फ्रेश जुस, अन्य गुलियो जुस, गुलियो सोडा ईत्यादिमा क्यान्सर रोगको जोखिम ज्यादा हुने रिपोर्ट प्रकाशित गरेको छ । चिनीको मात्रा भएको प्राकृतिक वा अप्राकृतिक जुन सुकै जुस नियमित खाने मानिसलाई गुलियो जुस नखानेलाई भन्दा क्यान्सरको जोखिम ज्यादा हुने रिपोर्ट बि एम जे (ब्रिटिश मेडिकल जर्नल) ले प्रकाशित गरेको हो । उक्त अध्ययनले भनेको छ “जुन उमेरको जस्तो फ्यामेली हिस्ट्री भए पनि जति व्यायाम गर्ने गरेको भएपनि र जति नै शिक्षित भएपनि जसले नियमित रुपमा गुलियो जुस, सोडा पिउने गरेको छ भने उसलाई क्यान्सर रोगको जोखिम अत्याधिक रहन्छ” ।

गुलियो जुस धेरै पिउनेको मुटु रोग, मधुमेह, क्यान्सरको कारण अल्पायुमा नै मृत्युको सम्भावना ज्यादै हुने अध्ययनको रिपोर्ट सार्वजनिक भएको यो पहिलो पटक भने होईन । तर बि एम जेद्वारा प्रकाशित रिपोर्टले शरीरको तौल बढ्नु, मुटु रोग र पाचन समस्या आदिलाई साईड एफ़ेकेट्स मानेर अध्ययन गरेको बताएको छ । यो रिपोर्ट सन् २००९ देखि सन् २०१७ सम्म कुल १ लाख १ हजार २ सय ५७ बस्यक फ्रेन्चहरुको बीचमा अध्ययन गरी निकालिएको निस्कर्ष हो । अध्ययनको दौरान ती प्रत्येक व्यक्तिको तौल, उचाई, ब्यायाम, खानपानशैली, शिक्षा र पारिवारिक क्यान्सरको हिस्ट्री लिईएको थियो ।अध्ययनको क्रममा बैज्ञानिकहरुले २४ घण्टामा कस्ता खाना खाने गरेको र कस्ता प्रकृतिका गुलिया तरल पदार्थ खाने गरेको विवरण समेत ती १ लाख १ हजार मानिसको लिएका थिए । बैज्ञानिकहरुले अध्ययनको लागि मानिसहरुले उपभोग गर्ने गरेका ३३ सय जुस र खाना लिस्टमा समाबेस गरेको समेत बताईएको छ । कार्बोनेटेड र बिना कार्बोनेटेड प्रकृतिका सामान्य जुस, सिरप, सत् प्रतिशत फ्रेश जुस, चिनी हालिएका तातो पेय पदार्थ, सपोर्ट्स ड्रिंक्स र इनर्जी ड्रिङ्क्स लगायतका पेय पदार्थलाई बैज्ञानिकहरुले अध्ययनको लागि छुट्याएको समेत जनाईएको छ । यो रिपोर्टमा अचम्म लाग्दो कुरा त यो छ कि सबैले स्वास्थको लागि राम्रो भनेर खाने गरेको शुद्ध फलफुलका जुस समेत यदि गुलियो छ भने क्यान्सरको ज्यादै जोखिम भनेको छ । रिपोर्टले भनेको छ; १०० मिलिलिटर गुलियो जुस चाहे फलफुलबाट तुरुन्तै निचोरेर होस् या बोतलमा राखेको होस्, नियमित खाने गरेको छ भने क्यान्सर रोगको जोखिम १२ प्रतिशत ज्यादा हुन्छ
। यदि त्यहि अनुपातमा सफ्ट ड्रिङ्क पिउने गरेको छ भने उक्त डरलाग्दो रोगको जोखिम १९ प्रतिशत ज्यादा हुन्छ । त्यति मात्र होईन २ पोका चिनी राखेर खाने चिया १ क्यान सोडा भन्दा हानिकारक हुने समेत रिपोर्टमा उल्लेख गरिएको छ ।

समग्रमा रिपोर्टले चिनियुक्त जुस नियमित पिउनेलाई क्यानसरको जोखिम त हुन्छ नै त्यसमा पनि स्तन, प्रोस्टेट र कोलोरेक्टल क्यान्सरको सम्भावना ज्यादै रहन्छ भनेको छ ।