नयाँ दिल्ली । भारतमा निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई आज सबेरै मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न पुष्टी ६ जनामध्ये एक जनाले जेलमै आत्महत्या गरेका थिए ।
एक जना घटना हुने समय नाबालक रहेका कारण सुधार गृहमा पठाइएको थियो । अन्य चार जनालाई भने आज बिहान साढे ५ः३० बजे दिल्लीमा मृत्युदण्ड दिइयो ।
अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
अदालतले फाँसीको सजाय सुनाएछि उनीहरुले सर्वोच्चमा अपिल गरेका थिए । अपिललाई सर्वोच्चले खारेज गरेसँगै उनीहरुको कारवाहीको फैसला कार्यान्वयनमा आएको हो । निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराइदिएका हुन् ।
निर्भयामाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको थियो ।
राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो ।
२०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले मृत्युदण्डको सजायलाई निरन्तरता दिएका थिए ।