काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्ने भएको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी छ ।
भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिने भएको छ । सङ्घीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० समानुपातिकतर्फबाट तथा सात वटा प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिकतर्फबाट सांसद चयन हुने व्यवस्था छ ।