निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

काठमाडौं । संसद विघटन गरी सरकारले निर्वाचनको नयाँ मिति तोकेपछि यसको तयारीमा निर्वाचन आयोग र सुरक्षा निकाय जुटेका छन् । सरकारले निर्वाचनको मिति नै घोषणा गरेको अवस्थामा अदालतमा विचाराधिन भएपनि तयारी समेत थाल्नुपर्ने तर्क आयोगको छ ।

सोहीकारण १५ माघमा मतदाता नामावली प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छ ।

यस निर्णयको विरोधमा सर्वोच्च अदालतमा दर्ता भएका रिटमा सुनवाइ संवैधानिक इजलासमा जारी रहेको छ । आयोगले निर्वाचनको तयारीकै क्रममा आइतबार संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसंग मतदाता नामावली अध्यावधिक र मतदान स्थलका विषयमा समेत परामर्श लिएको छ ।

आयोगले दलहरूलाई चुनाव केन्द्रीत कार्यक्रमहरूमा सहभागी भइदिन, आमनागरिकलाई सुसुचित गराइदिन, सहयोग, समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ । आयोगका अनुसार माघ १५ मा मतदाता नामावली प्रकाशित हुनेछ ।

यसमा त्रुटि भए सच्याउन १६, १७ गते निवेदन दिन सकिने छ । माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक गरिनेछ ।

तर, नेकपा भित्रको अर्को समुहले भने संसद पुनस्र्थापना हुने भन्दै निर्वाचनका तयारीका काम अगाडी नबढाउन निर्वाचन आयोगसँग अनुरोध गरिसकेको छ । उता, गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन हुन् ।