निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

TKP

काठमाडौं । ३० वैशाखमा तोकिएको निर्वाचनका दौरान भिडभाड बढ्दा नेपालमा महामारी फिर्ता हुने जोखिम बढेको छ । भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान समेत गरेको छ । कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले निरन्तर आह्वान गरिरहेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा कोरोना संक्रमणदर स्थिर रहेको छ।

केही दिनदेखि दैनिक १० देखि ३० जनामा संक्रमण पुष्टि भइराखेको छ। संक्रिय संक्रमितको संख्या अहिले दुई सयको हाराहारीमा छ। मन्त्रालयका अनुसार २९ जिल्लामा संक्रमण दर शून्य छ। त्यसैगरी, दुई सय भन्दा कम संक्रमित भएका जिल्लाको संख्या ४८ रहेको छ । संक्रमण पृष्टि हुनेको संख्यामा कमी आएपनि जोखिम उच्च रहेकोले स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले भनेको छ । छिमेकी देश भारतमा समेत संक्रमणदर बढिरहेका कारण समेत नेपालमा यसको जोखिम बढेको हो ।

खोप लगाउँदा र स्वास्थ्यका मापदण्डा अपनाउँदा संक्रमणको जोखिम कम हुने भन्दै मन्त्रालयले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रहसमेत गरेको छ । नेपालमा २४ घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १५ जनामा कोरोना पृष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पृष्टि हुनेको संख्या ११ लाख १९ हजार ११२ पुगेको छ। जसमध्ये नौ लाख ६६ हजार ७४७ जनाले कोरोना जितेका छन्।

नेपालमा अहिलेसम्म एक करोड ८९ लाख ३७ हजार ३५० जनाले एक मात्रा, एक करोड ९६ लाख ५८ हजार ९५० जनाले पूर्णमात्रा खोप लगाएका छन् भने ३५ लाख ९३ हजार ७२ जनाले अतिरिक्र मात्रा खोप लगाएका छन्। संक्रमितमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर १.२ प्रतिशत रहेको मन्त्रालयले तथयांकले देखाएको छ। कोरोना नियन्त्रणका लागि खोप लगाउन सुरु भएदेखि अहिलेसम्म सरकारले चार करोड २१ लख ८९ हजार ५५२ मात्रा खोप ल्याएको छ।