काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा घात गर्नेमाथि कारवाही गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचनमा परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको हो । पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन सदस्यीय समिति गठन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आइतबार ललितपुरस्थित केन्द्रीय कर्यालयमा बसेको बैठकले १३ विभागको सचिव समेत मनोनयन गरेको छ ।
वित्त तथा आर्थिक विभागमा डा. भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षणमा मोहिनी खनाल, श्रम तथा रोजगारमा जनक चौधरी, संसदीय विभागमा डा. सूर्य पाठक, सामाजिक सेवामा नेत्र तिम्सिना मनोनयन गरिएको छ । संस्कृति विभाग राजेश थापा, स्थानीय तह विकासमा हर्क राई, प्रचार तथा प्रकाश विभागमा गगन विष्ट, परराष्ट्रमा अन्जान शाक्य, संघीय मामिलामा शिव गुरुङ, ऊर्जा तथा जलश्रोतमा पुष्प ज्योति ढुंगाना र कानुन विभागमा डिल्लीराम मैनाली मनोनयन भएका छन् ।