काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्ने भएको छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्ने जिम्मा दिइएको छ ।