काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइन गर्न दरखास्त आह्वान गरेको छ । आयोगले शनिबार सूचना निकाल्दै मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनको माग गरेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन संकलन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
मान्यता प्राप्त गरेका विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक तह उत्तिर्ण गरेको, दृष्टान्त चित्र र ग्राफिक डिजाइन सम्बन्धी कम्तिमा दुई वर्षको अनुभव भएको, रेखा चित्र तथा रङ्गिन चित्र तयार गर्ने सम्बन्धी दक्षता भएको र नेपाली टाइप गर्नसक्ने र मुद्रण तथा प्रि प्रेस सम्बन्धी जानकारी भएकाले आवदेन दिन सक्ने आयोगले उल्लेख गरेको छ । आयोग स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा जुटेको छ । यद्दपी निर्वाचनको मिति तय हुन बाँकि छ ।