निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्ति निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने जनाएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना–प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो ।

त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुने बताएका छन् । उनका अनुसार निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्ने बाधा व्यवधान र तिनलाई हटाउने उपायबारे छलफल भएको छ ।

फेसबुकसँगको सहकार्यले झुटा विवरण प्रचारप्रसार र अफवाह नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । आयोगले निर्वाचनसम्बन्धी जनचेतनामूलक र प्रवद्र्धनात्मक सामग्रीलाई प्रचारप्रसार गर्न पनि समझदारी भएको बताएको छ ।