निर्वाचन लक्षित मौन अवधि कार्यान्वयनमा, के के गर्न पाइदैन ?

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरि मौन अवधि लागु भएको छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहने छ । यस पटक ३० वैशाखमा निर्वाचन हुँदैछ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।

तर, यस अवधिमा मतदाता परिचयपत्र लिन जान पाउने छन् । मतदाता शिक्षाको कार्यक्रम समेत यस अवधिमा हुने छ । कसरी मतदान गर्ने, स्वस्तिक कसरी लगाउने र मतपत्र कसरी पट्याउने भनेर यस अवधिमा सिकाइन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ ।

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’


निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र सेयर गर्न समेत रोक लगाएको छ । आचारसंहिता पालना र मौन अवधिमा पालनाको अनुगमन गर्न आयोगले १९ जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको छ ।