काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको कथित निषेधाज्ञा तोड्ने बताएका थिए ।
सोही कार्यक्रम अन्तर्गत शनिबार मध्याह्न केसीलगायतले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।
सरकारले गत मंसिर ५ गते माइतीघर-वानेश्वरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको थियो ।