नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कांग्रेसको भूमिका अस्पष्ट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । अपरान्ह बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ ।

संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ । अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने छ । संसदमा कांग्रेसको अवरोध जारी छ । सोहीकारण नीति तथा कार्यक्रम के हुने भन्ने अन्यौल जारी छ ।