नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

नुवाकोट । नुवाकोटमा आमा छोरीको विभत्स हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ छन् जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

घटनालगत्तै उनी फरार थिए । उनी काठामाडौँतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको प्रहरीले बताएको छ ।