काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी भावनात्मक रुपमा फुटिसकेको छ । तर, कानूनी रुपमा भने नफुटेको निष्कर्ष निर्वाचन आयोगले दिएको छ । आयोगको यो निर्णयले अन्यौल बढिरहेका समयमा आयोगले आज पुनः नेकपाका दुबै खेमासँग छलफल गर्ने भएको छ ।
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाउँदै आयोगले आज दुवै पक्षसँग छलफल गर्न लागेको हो ।
आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठका अनुसार निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५, ५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलमा बोलाइएको छ ।
सरकारले आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सोही सन्दर्भमा आयोगले आज दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई धारसँग छलफल गर्न लागेको हो । आजको बैठकमा आधिकारिकताको विषयमा समेत छलफल हुने भएको छ ।