नेकपा एकीकृत समाजवादी दलको सनाखत आज

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले आज औपचारिक मान्यता पाउँदैछ । साथै आजै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समेत वैधानिकता पाउने छ । निर्वाचन आयोगले दुबै दल दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको हो । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सनाखत सम्पन्न भएपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिनेछ ।

सनाखतले दललाई औपचारिकता दिने छ । सनाखत गर्न बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ ।

एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् । दल दर्ताको सनाखत अगाडी माधव नेपाल पक्षधर नेताहरु चन्द्रागिरीमा छन् ।