नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेकपाले आज संसदीय दलको नेतामा प्रचण्डलाई छनोट गर्दैछ । त्यसका लागि आज १ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई छानिएको थियो । आज संसदीय दलको बैठकले नेता छान्ने छ ।

आज १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठक बोलाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएका कारण उनी संसदीय दलको नेता बन्ने पक्का भएको हो ।

प्रचण्ड, नेपाल समुहमा प्रतिनिधि सभा सदस्यमध्ये ९० जना सांसद उपस्थित छन् । यो बहुमत संख्या हो । यसअघि मंगलबार नै नेकपाको ओली समुहले आफ्नो समूह आधिकारिक भएको भन्दै पार्टी विभाजनका कामहरु फटाफट गरेको थियो । जसमा नयाँ केन्द्रिय सदस्य थपेर आफ्नो बहुमत देखाइएको छ । यसबारे अब निर्वाचन आयोगले दिने फैसलाबाट औपचारिक रुपमा पार्टी विभाजन हुनेछ ।