नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण

कनेक्टिकट

कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले हाल अमेरिका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई गत जुन २५ तारिखका दिन स्थानीय केनेडी पार्कमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष संजय पन्तले गर्नु भएको थियो भने सहयोगदाताहरु र सदस्यहरु गरी करिव १०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महावीर पुनलाई सम्मान गर्दै नेकोनका अध्यक्ष नारायण पौडेलले डा. पुनको सरल व्यक्तित्वको प्रशंसा गर्दै सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । संस्थाको तर्फबाट उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण तथा संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु भएको थियो । सम्मानित व्यक्तित्व डा. महावीर पुनले अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको भनाई उद्धृत गर्दै विना स्वार्थ राष्ट्रका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । साथै वहाँले सहाभागीहरुको जिज्ञासाको प्रतिउत्तर पनि दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा नेकोनद्वारा संकलित १० हजार अमेरिकी डलर अध्यक्ष नारायण पौडेलज्यूले डा. पुनलाई हस्तान्तरण गर्नु भयो ।

स्मरण रहोस, डा. महावीर पुन म्याग्दीको दुर्गम गाउँ नागीमा जन्मिएर पनि अमेरिकाबाट विद्यावारिधि गर्न सफल भई अमेरिकाको सुविधा र अवसरलाई छाडेर पुन नेपालको दुर्गम गाउँमा फर्केर तार रहित ईन्टरनेट तथा भिओआईपी टेलिफोनको माध्यमबाट नेपालको दुर्गम गाउँलाई इन्टरनेटको विश्व संजालमा जोड्न सफल हुनु भयो । निस्वार्थ सामाजिक सेवामा वहाँको नेतृत्व क्षमताको उच्च सम्मान गर्दै सन् २००७ मा वहाँले फिलिपिन्सबाट ५०,००० डलरको रमण म्याग्सायसे पुरस्कार प्राप्त गर्नु भयो । त्यस यता पुरस्कारको सम्पूर्ण रकम र आफ्नो जायजेथा समेत संस्थागत गर्दै “राष्ट्रिय आविस्कार केन्द्र” को स्थापना गरि देशमा विज्ञान तथा प्रविधिको अध्ययन र अनुसन्धान मार्फत नेपाली माटो सुहाउँदो प्रविधीको विकासमा युवा जनशक्तिलाई परिचालन गरिरहनु भएको छ भने, हालै विद्यमान कोभिड-१९ को महामारीमा नागरिक स्तरमा अगुवा नेतृत्वको भूमिकामा वहाँ सतिसाल झैँ उभिनु भयो । अक्सिजन सिलिन्डर, यस संग सम्बन्धित पार्टपूर्जाहरु, अस्पतालका भेन्टिलेटरहरुको मर्मत सम्भार र पिपिईको निर्माण तथा वितरणको सहजीकरण गरेर वहाँ र वहाँको केन्द्र सम्बद्ध टिमले नेपाली जनतालाई बिर्सनै नसकिने गुण लगाउनु भएको छ । डा. पुन र वहाँको राष्ट्रिय आविष्कार केन्द्रलाई आफ्नो उदेश्य प्राप्तिमा निरन्तर सफलता मिलोस, कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएको यही हार्दिक शुभकामना !