काठमाडौं । शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराएको नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल प्रवेश गरेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुने भएको छ । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ ।
नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०..२९३ छ । नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ । यो अवस्थामा आइतबार नेदरल्यान्ड्स विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । यी दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ ।
नेपाललाई नेटरनरेटमा नेदरल्यान्ड्स र नामिविया मध्य एक टोलीले मात्रै अब पछि पार्न सक्छन् । त्यसैले नेपाल फाइनल खेल्ने पक्का भएको हो । शनिबार कीर्तिपुर मैदानमा नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९। ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३–२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुईरदुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।