नेपालको इतिहासमा पहिलो पटक फ्लडलाइट र प्यारापिटसहितको रंगशालामा ठूलो प्रतियोगिता

RSS

१ मंसिर, काठमाडौं । नेपालको इतिहामा पहिलो पटक प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालामा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । नेपाल प्रिमियर लीग क्रिकेटको दोस्रो संस्करण आजबाट कीर्तिपुरमा सुरु हुँदैछ । यो खेलले धेरै अर्थमा कीर्तिमान राख्ने छ । सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा भएसँगै आइतबार साँझ विशेष कार्यक्रमका बीच यो रंगशाला हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण गरेको हो ।

अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । दोस्रो चरणमा थप १० अर्ब लगानीको योजना छ । ३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो । सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।

त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन । पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुनस् म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ । बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो । जसको लागत ४२ करोड १९ लाख रुपैयाँ छ ।