नेपालको तगारो बन्यो जोर्डन, पेनाल्टीमा नेपाल पराजित

काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । फाइनलमा जोर्डनसँग पराजित भएसँगै नेपाली टीम पुनः उपाधी भित्राउन असफल भएको हो । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले हारेको नेपाल उपविजेतामा समेटिएको हो । जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल(फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो । नेपालले सुरुमा अग्रता लिएको र पछि पर्दा पनि अन्तिम सममया गोल गर्दै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएको थियो । पेनाल्टीमा भने नेपाल भाग्यमानी बन्न सकेन र फेरि फाइनलमा पराजित भयो ।