काठमाडौं । नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण भएको छ । अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ वर्ष पुरानो प्रणाली विस्थापित गरि डिजिटल प्रणाली शूभारम्भ गरेको हो । विभागले हस्तलिखित भिसा प्रणालीलाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली शुरु गरेको सोमबार जानकारी गराएको छ ।
सोमबार अध्यागमन बिभागमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका छन् । उनले यो प्रणाली अनुसार पहिलो भिसा पोर्चुगलका नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरे । क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणाली कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने छ ।
यसबाट हातले लेख्दा हुने त्रुटि तथा केरमेट नहुने र प्रणालीबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने छ । कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडमा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसँग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको विभागले उल्लेख गरेको छ ।
अब नेपालको भिसा अन्तरर्राष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विद्धुतीय भिसा लागू गर्न सकिने भएको छ । हाल बिभागबाट शुरू भएको यो सेवा निकट भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देश भरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना रहेको विभागको भनाइ छ ।