काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारीबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को धारणा आएको छ । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपतकालिन सहायताको आवश्यक रहेको संगठनको भनाई छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रवार नियमित प्रेस सम्मेलनमा यस्तो धारणा राखेका हुन् ।
उनले भारतसहित नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताए । उनका अनुसार अफ्रिका र अमेरिकी महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको छ । यी देश सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत उनले बताए ।
डा गेहब्रेयससले डब्ल्यूएचओ सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई यी मुलुकमा बिस्तार गर्ने उल्लेख गरे । पछिल्लो दुई सातामा नेपालमा एक लाख १० हजार ७६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १,३७१ जनाको मृत्यु भइसकेको छ ।