नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना

काठमाडौं । भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपालमा समेत भारतीय जनता पार्टीको सरकार बन्ने अभिव्यक्ति दिएको भाजपाकै एक नेताले सार्वजनिक गरेका छन् । त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले केही दिन अगाडी सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेका हुन् । उनले शाहले सन् २०१८ मा यस्तो योजना बताएको उनले सार्वजनिक गरेका थिए ।

शाहले दिएको भनिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले भने असन्तुष्टी जनाएको छ । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले यसबारे भारतीय अधिकारीसँग कुरा राखेको बताइएको छ । शाहले सन् २०१८ मा एक कार्यक्रममा भारतीय जनता पार्टीले नेपाल र श्रीलंकामा आफ्नो सरकार बनाउने योजना रहेको बताएको देवले खुलासा गरेका हुन् ।

शाह भने यो विषयमा मौन छन् । उता, भाजपा समर्थक संचारमाध्यममा भने नेताहरुले ठट्टाका रुपमा शाहले भनेको विषयलाई देवले यो विषयलाई गम्भीर रुपमा उचालेको आरोप लगाएका छन् । तर, मुख्यमन्त्रीबाटै यो विषय सार्वजनिक भएपछि भने यसले भारत र नेपालमा समेत हंगामा सिर्जना गरेको छ । इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धीले शाहको अभिव्यक्तिले छिमेकीसँगको सम्बन्ध विग्रने अभिव्यक्ति दिएका छन् । उनले यसबारे शाहले नै बोल्नु पर्ने उनको भनाई छ ।