काठमाडौं । नेपालमा ७३ लाख मात्रा भन्दा खोप भण्डार केन्द्रमा स्टक रहेको सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक छ । खोप लगाउन आवश्यक पर्ने ६१ लाख ६८ हजार सिरिन्ज समेत सरकारसँग स्टक रहेका कारण तत्काल नेपालमा खोप अभाव नहुने सरकारको भनाई छ ।
महाशाखाका अनुसार भेरोसेल छ लाख ११ हजार ३८२ मात्रा, जोन्सन एण्ड जोन्सन ६ लाख ३२ हजार २ सय, अस्ट्राजेनेका १३ लाख १९ हजार, कोभिसिल्ड २५ लाख ४३ हजार ३१० मात्रा, फाइजर तीन लाख ५२ हजार ९६८ र मोडर्ना १८ लाख ७६ हजार ५४० मात्रा स्टमा रछ । नेपालमा पहिलो पटक भारतबाट अनुदानमा गत वर्ष माघ ८ गते खोप आएको थियो। अहिलेसम्म नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप प्राप्त भएको छ।
खरिद गरिएको एक करोड २० लाख, विभिन्न दातृ निकायबाट अनुदानमार्फत् प्राप्त गरेको ५४ लाख ६२ हजार ७२०, कोभ्याक्समार्फत खरिद गरिएको ७५ लाख ९७ हजार २००, कोभ्याक्समार्फत् अनुदानमा प्राप्त रहेको एक करोड दुई लाख ३६ हजार १२०, कोभ्याक्सको एएमसीमार्फत् प्राप्त भएको आठ लाख ७२ हजार ६०० गरी नेपालले अहिलेसम्म चार करोड ३३ लाख ६८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ।
नेपालमा कोभिसिल्ड ९४ लाख ८७ हजार, भेरोसेल एक करोड ९७ लाख ३६ हजार ४००, जान्सन एण्ड जान्सन ३७ लाख ११ हजार ५००, अस्ट्राजेनेका, ४३ लाख ५६ हजार ५६०, फाइजर सात लाख ६५ हजार १८०, मोर्डना ५३ लाख १२ मात्रा खोप नेपालले प्राप्त गरेको छ । नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ।
सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म तीन करोड ६ लाख चार हजार १५२ मात्रा खोप लगाइसकेको छ ।
एक करोड ६४ लाख ७४ हजार ५१४ ले एकमात्रा र एक करोड ३८ लाख ३३ हजार ६२९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। कुल जनसंख्याको ५४.२ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।